२५ जेठ, काठमाडौँ। नेपालमा कोरोना महामारीको दोस्रो लहर भित्रिए सँगै निषेधाज्ञा लागु थियो । मुखैमा आएको व्याचलरको मरो परीक्षा पनि निषेधाज्ञाका कारण स्थगित हुन पुग्यो । काम गरिरहेको अफिस पनि बन्द भयो । यो निषेधाज्ञामा गाँउ नफर्की काठमाडौँमा नै बसेको थिएँ । कोठामा एक्लै बस्ने भएकोले समय कटाउन निकै मुस्किल परिरहेको थियो । ‘फेसबुक’, ‘इन्स्टाग्राम’ र ‘यूट्यूब’ हेर्दा हेर्दै वाक्क लागिसकेको थियो ।
एक दिन कलेजको एउटा साथिले ‘मेसेन्जर ग्रुप’ मा “को–को ‘क्लबहाउस’मा छौ ?” भन्दै मेसेज पठाएको देखेँ । उत्सुकता जाग्यो अनि डाउनलोड गरेँ ‘क्लबहाउस’ एप । क्लबहाउसमा जोडिनको लागि इन्भिटेशन चाहिने भएकोले मेसेज गर्ने साथिले नै इन्भिटेशन पठायो ।
त्यहाँ विभिन्न नयाँ विषयमा रमाइला कुराकानी हुन्छ । चिन्ने–नचिने सबै साथिहरु सँग जोडिने भएकाले नयाँ साथिहरुको नयाँ अनुभाब र आइडिया सुन्न पाइन्छ । पहिले यूट्यूबमा गीत सुनेर समय बेतीत गर्थेँ, समय बर्बाद भएजस्तो लाग्थ्यो । अहिले क्लबहाउस बाट धेरै नयाँ कुरा सिक्न पाएको छु । समय बितेकोमा पछुतो लागेको छैन् । आफूले फलो गर्ने ‘सेलिब्रिटी’ र ‘मोटिभेस्नल स्पिकर’ लाई प्रत्यक्ष क्लबहाउसमा सुन्न पाउँदा खुसी छु । आफूलाई जुन रुम मन पर्यो, त्यही रुममा गएर आफ्ना कुरा राख्न र सुन्न सकिन्छ । अरु सोसल मिडियामा जस्तो यो एम बाट अरुलाई सन्देश पठाउन नमिल्ने भएकोले अरु सोसल मिडिया मन नपर्नेलाई पनि यो एप मन पर्न सक्छ ।

अडियोमा मात्र आधारित एप भएकोले यस्को लोकप्रियता झनै बढेको छ । क्लबहाउस एपको प्रयोग गर्दा मलाई मेरा बिगतका दिनहरु स्मरण गराउछ । मेरो रुचि अनुरुप रेडियो प्राविधिक भएर अरुका कुरा सुन्ने तथा रेडियो कार्यक्रम सञ्चालक भएर आफ्ना कुरा अरुलाई सुनाउने गर्थेँ । रेडियोमा सुन्ने र सुनाउने काम मात्र हुन्थ्यो, फिडब्याक दिन मिल्दैन थियो । तर यहाँ सुन्न मात्र होइन हात उठाएर आफ्ना कुरा राख्न पनि मिल्छ । अहिले त्यो कामबाट टाढा भए पनि क्लबहाउसले अनुभुति भने दिइराखेको छ ।
निषेधाज्ञा भएर घरमा यसै बसिरहेका युवायुवतीको लागि यो एप उपलब्धिमूलक छ । करिब दुई हप्ता अघि मात्र नेपालमा उपलब्ध हुन थालेको क्लबहाउस छोटो समयमै निषेधाज्ञाको रोचक साथी बनेको छ । नचिनेका मानिसको सर्कलसँग जोडिने भएकोले उनीहरुका कुरा सुन्न पाइन्छ । सुन्न मन लागे सुन्ने, सुन्न मन नलागे ‘लिभ क्वाट्ली’ भन्ने अप्सन पनि दिएको छ ।
राजनीति, सेयर मार्केट, म्युजिक तथा समसामयिक विषयवस्तुमा छलफल भइराखेको हुन्छ । आफूलाई जुन विषयवस्तुमा उत्सुक लाग्छ त्यही रुममा छिर्न मिल्छ । ‘करिअर टक’, ‘कम सिंगल गो मिंगल’, ‘डेट, म्यारी एण्ड किल’ जस्ता रुममा युवायुवती रमाइरहेका हुन्छन् । पछिल्लो समय क्लबहाउसका केही रुम अश्लिल हुन थालेका छन् । हामीले खोजेको ओपन सोसाइटी त्यहाँ भेटिन्छ तर, आवाज मात्रै सुनिने र प्रोफाइल नदेखिने भएकोले यसको दुरुपयोग पनि उत्तिकै भइरहेको छ ।
अघिल्लो लकडाउनमा पनि टिकटक त्यसरी नै प्रख्यात थियो । नयाँ एप आँउदा त्यसमा मानिसहरु झम्मिनु स्वभाविक मानिन्छ । एपहरुको महत्व बुझेर चलाउन सके यस्को फाइदा लिन सकिन्छ नत्र यस्ता एपले हानी पनि गर्न सक्छ । यस्ता एप फेसन जस्तै हो, समयसँगै नयाँ फेसन आएजस्तै नयाँ एप पनि आउँछन् । तर, त्यो फेसन आफूले अपनाउने÷नअपनाउने आफ्नै हातमा छ ।
के हो क्लबहाउस ?
क्लबहाउस एउटा इन्भिटेशनमा आधारित अडियो च्याटरुम हो । जसका कारण कसैले पठाएको इन्भिटेसन लिङ्कबाट मात्र यो एममा छिर्न सकिन्छ । अल्फा एक्सप्लोरेशन कम्पनीका डेभलपर पल डेभिसन र रोहन सेठले बनाएको एप गत बर्ष अर्थात् सन् २०२० मार्चमा स्टार्टअपका रुपमा अमेरिकामा शुरु गरिएको थियो । यो एपमा रुम क्रियट गरेर कुराकानी तथा छलफल गर्न र आफ्ना साथिभाइहरुलाई सहभागितका लागि आमन्त्रण गर्न सकिन्छ ।
क्लबहाउसका प्रयोगकर्ताले आफूलाई इच्छा लागेको रुममा अनुमतिविनै छिरेर कुराकानी सुन्न सक्छन् । आफ्ना कुरा राख्न सक्छन् । आफैँ पनि रुम बनाएर साथीहरूलाई इन्भाइट गरेर आफूलाई मन लागेको विषयमा छलफल गर्न सकिन्छ ।
यसमा अरु देशका मानिसले सञ्चालन गरेको रुपमा छिरेर पनि कुरा सुन्न सकिन्छ । एपभित्र गरेका गफ रेकर्ड हुँदैन । कुराकानी सकिएपछि फेरि सुन्न मिल्दैन । लाइभ सुन्नुपर्छ । यो ‘इन्भाइट’ बेस्ड एप हो ।

कति छन् प्रयोगकर्ता ?
यसअघि आइओएसका लागि मात्र उपलब्ध भएको यो एप मे २०२१ बाट एनड्रोइडमा पनि उपलब्ध छ । क्लबहाउस एनड्रोइड–८ वा त्योभन्दा माथिको सफ्टवेयर भर्जनमा मात्रै सपोर्ट गर्छ । एप्पलको एप स्टोरबाट १ करोड भन्दा धेरै पटक डाउनलोड भइसकेको यो एप एनड्रोइड को प्लेस्टोर बाट अहिलेसम्म २० लाख भन्दा धेरै डाउनलोड भइसकेको छ । क्लबहाउसलाई अरूभन्दा फरक बनाउने कुरा भनेको यसमा अक्षर, तस्बिर वा भिडिओ राख्न नमिल्नु हो। यो आवाज मात्रै भएको एप हो।
एन्ड्रोइड भसर्नमा उपलब्ध भएतापनि अझै यसमा आईओएसमा जस्तो सबै फिचर समावेश छैन । यस्तोमा कम्पनीले समय–समयमा नयाँ फिचर थप गर्दै आएको छ । यही क्रममा कम्पनीले आईओएस प्रयोगकर्तामाझ लोकप्रिय फिचर एन्ड्रोइड प्रयोगकर्तालाई पनि उपलब्ध गराएको छ ।
क्लबहाउसको चर्चा
संसारका केही धनी र चर्चित व्यतिmहरू यस जोडिएका छन्। तीमध्ये केही टेस्लाका इलोन मस्क, फेसबुकका मार्क जुकरबर्ग, गायक ड्रेक र कान्य वेस्ट एवम् सञ्चारकर्मी ओप्राह विन्फ्रे रहेका छन्।
यसको चर्चासँगै पैसाको पनि चर्चा छ। यसलाई यूके फाइनान्सियल टाइम्सका अनुसार अहिल्यै एक अर्ब अमेरिकी डलरभन्दा माथि मूल्याङ्कन गरिसकिएको छ। अहिलेका लागि एक सुको पैसा नकमाएको एपका लागि त्यो राम्रो मूल्याङ्कन हो।
पछिल्लो समय क्लबहाउसको चर्चा बढे सँगै ट्वीटर एपले पनि क्लबहाउस जस्तै अडियो फिचर ल्याएको छ । ट्वीटरले यसको परीक्षण आईओएस एपमा गरिरहेको छ । अरु एपहरुले पनि क्लबहाउसलाई पछि पार्नको लागि यस्तो फिचर नल्याउलान भन्न सकिदैन ।